परिचय
कोलकातास्थित नेपाली महावाणिज्यदूतावास नेपालको सबैभन्दा पुराना कूटनीतिक नियोगहरू मध्ये एक हो। यस दूतावासको कार्यक्षेत्र भारतको पश्चिम बंगाल प्रान्त पर्दछ। दुतावासको प्रमुख कार्यहरुमा कोलकाता र हल्दिया बन्दरगाहबाट हुने व्यापार सहजीकरण, नेपाली नागरिकहरूलाई राहदानी जारी, आवश्यकतानुसारका सिफारिस पत्रहरू प्रदान तथा नेपाली नागरिकलाई भारतमा पेशा, व्यवसाय, अध्ययन वा अन्य प्रचलित कानून बमोजिम गर्नुपर्ने कार्यका लागि नेपाल सरकारको आपत्ति नरहरेको प्रमाणपत्र (No Objection Certificate) उपलब्ध गराउने सेवा प्रदान गर्ने रहेको छ। साथै, सरकारी कागजातहरूको प्रमाणीकरण, नेपाली नागरिकहरुको उद्धार तथा स्वदेश फिर्तीसम्बन्धी कार्यहरू र विदेशी नागरिकहरुलाई प्रचलित कानुनबमोजिम भिसा उपलब्ध गराउने गर्दछ।
नेपालका लागि पश्चिम बंगालको महत्त्व
पश्चिम बंगाल नेपालको प्रमुख व्यापारको प्रमुख केन्द्र (निर्यात तथा आयात), रोजगारी, सामाजिक सांस्कृतिक, सम्बन्ध, पर्यटन प्रवर्द्धन, आदि विविध क्षेत्रमा नेपालको लागि अत्यन्त महत्वपूर्ण स्थान हो। नेपालको व्यापार, अर्थतन्त्र तथा सामाजिक संरचनामा पश्चिम बंगालको विशेष प्रभाव रहेको छ। कोलकाता करिडोर नेपालको तेस्रो मुलुकहरूसँगको व्यापारका लागि ज्यादै महत्वपूर्ण छ। कोलकाता र हल्दिया बन्दरगाहहरूले नेपालको लागि बैदेशिक व्यापारमा विशेष महत्त्व राख्छन्।
पारवहन तथा यातायात सहकार्य
नेपालको लागि विश्वभरबाट समुद्री मार्ग हुँदै आउने आयातित वस्तुहरू सहज रूपमा ढुवानी गर्न महावाणिज्यदूतावासले महत्वपूर्ण भूमिका खेल्दछ। यी वस्तुहरू कोलकाता र हल्दिया बन्दरगाह हुदै रेल तथा ट्रकमार्फत नेपाल ढुवानी हुन्छ। व्यापार र यातायात सम्बन्धी कार्यहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कोलकातास्थित भारतीय निकायहरूसँग दुतावासले राम्रो सम्बन्ध स्थापित गर्ने गरेको छ। मुख्य रूपमा कोलकाता भन्सार, कोलकाता बन्दरगाह प्राधिकरण, भारतीय रेलवे तथा कन्टेनर कर्पोरेशन अफ इण्डिया लिमिटेड (CONCOR), सिपिङ्ग लाइन, क्लियरिङ्ग एजेन्ट आदि निकायहरुसंग दूतावासको समन्वय र सहकार्यमा कार्य सम्पादन गर्दै आएको छ।
आर्थिक कूटनीति र सांस्कृतिक प्रवर्द्धन
नेपालको परराष्ट्र नीति बमोजिम महावाणिज्यदूतावासले आर्थिक कूटनीति प्रवर्द्धनका गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्दछ। नेपाली भाषा, पर्यटन प्रवर्द्धन, संस्कृति, मूल्य र मान्यता अनुरुप नेपालको गरिमा अभिवृद्धि गर्नु दूतावासको प्रमुख उद्देश्य रहेको छ। यस सन्दर्भमा दूतावासले भारतीय अधिकारीहरू, नेपाली समुदाय, कल्याणकारी समाजहरू, व्यावसायी तथा व्यावसायिक संघसंस्थाहरूसँग नियमित रूपमा समन्वय, सहकार्य तथा अन्तरक्रिया गर्दै आइरहेको छ।
नेपाली नागरिकहरूको उद्धार र सहायता
महावाणिज्यदूतावासले नेपाली नागरिकहरूको उद्धार र स्वदेश फिर्तीलाई उच्च प्राथमिकता दिएको छ। पश्चिम बंगालको क्षेत्रमा अलपत्र परेका, हराएका वा समस्यामा परेका नेपाली नागरिकहरूको द्रुत तथा प्रभावकारी रुपमा उद्धार तथा फिर्ता गरि सम्बन्धित परिवारको जिम्मा लगाउने कार्यमा दूतावास क्रियाशिल रहेको छ।
आर्थिक कूटनीति
अन्तमा,
कोलकातास्थित नेपाल महावाणिज्यदूतावासले नियमित सेवा प्रवाह, द्विपक्षीय सम्झौता, अन्तर्राष्ट्रिय कानून तथा प्रचलनहरूको सीमाभित्र रही नेपाल सरकारबाट प्राप्त जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गरिरहेको छ।